हिमालय एअरलाइन्स् नेपाल–चीन संयुक्त लगानीमा सन् २०१४ मा स्थापना भएको एक अन्तर्राष्ट्रिय एअरलाइन्स् हो। यसको मुख्य उद्देश्य नेपाल र अन्य देशबीच जनता–जनताबीचको सम्पर्क बढाउनु तथा नेपालको व्यापार र पर्यटन क्षेत्रलाई सहयोग पुर्याउनु हो। यो एअरलाइन्स् तिब्बत सिभिल एभिएसन डेभलप्मेन्ट एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (TCADIC) र यती वर्ल्ड इन्भेष्टमेन्ट प्रा. लि.को संयुक्त लगानीमा सञ्चालन भइरहेको छ।
हिमालय एअरलाइन्स् को फ्लीटमा हाल चारवटा विमान छन्—तीनवटा एअरबस A320-214 (१८० इकोनोमी सिट) र एउटा एअरबस A319-115 (१४४ इकोनोमी सिट)। एअरलाइन्स् ले मध्यपूर्व र दक्षिण एसियाका यूएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश तथा चीनका विभिन्न गन्तव्यहरूमा उडान सञ्चालन गर्दै आएको छ। चीनतर्फ बेइजिङ, छिन्दाओ, सांघाई, चोङ्किङ र ल्हासामा नियमित उडानहरू छन्।
हिमालय एअरलाइन्स् ले सञ्चालनको पहिलो वर्षमै साउथ एसियन ट्राभल अवार्ड्स (SATA) २०१७ अन्तर्गत “दक्षिण एसियाको अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्” को उपाधि प्राप्त गरेको थियो। सन् २०२० मा वायुयान मर्मतसम्भार तथा इन्जिनियरिङ सेवाका लागि ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रमाणपत्र प्राप्त गर्यो। सन् २०२१ डिसेम्बर २९ मा हवाई यात्रु तथा कार्गो सेवा र उड्डयन तालिम सेवाका लागि ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो एअरलाइन्स् बन्यो।
यस प्रमाणिकरणले हिमालय एअरलाइन्स् को गुणस्तरप्रतिको प्रतिबद्धता र व्यवस्थित कार्यशैलीलाई देखाउँछ। सन् २०२३ डिसेम्बर २८ मा हिमालय एअरलाइन्स् IOSA अपरेटरको रूपमा प्रमाणित हुने नेपालको पहिलो र एकमात्र एअरलाइन्स् बन्यो र अन्तर्राष्ट्रिय हवाई यातायात संघ (IATA) को सदस्य एअरलाइन्स् का रूपमा दर्ता भयो।
सन् २०२१ सेप्टेम्बरदेखि हिमालयले आफ्ना सबै जहाजमा जीवन–रक्षक उपकरण स्वचालित बाह्य डिफिब्रिलेटर (AED) जडान गरेको छ। यससँगै AED प्रयोग गर्ने नेपालको पहिलो र एकमात्र एअरलाइन्स् बनेको छ।
सुरक्षा, समयमै उडान (अन–टाइम पर्फमेन्स) र यात्रु सेवामा उत्कृष्टता कायम गर्ने लक्ष्यसहित हिमालय एअरलाइन्स् आफूलाई एक विश्वसनीय एअरलाइन्स् का रूपमा स्थापित गर्दै दक्षिण एसियाको अग्रणी एअरलाइन्स् बन्ने दिशामा अघि बढिरहेको छ।