यस वर्ष उड्डयन क्षेत्रमा उत्कृष्टताको एक दशक मनाउँदै हिमालय एअरलाइन्स्ले अगस्ट ३०, २०२५ मा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको जनवादी गणतन्त्र चीनको तिआन्जिनको औपचारिक भ्रमणको लागि विशेष कूटनीतिक उडान सञ्चालन गरेको छ ।

उक्त उडानमा सम्माननीय प्रधानमन्त्री, वहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्यज्यूका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय श्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डे, आर्थिक तथा विकास सल्लाहकार माननीय श्री युवराज खतिवडा एवम् विभिन्न उच्च पदस्थ सरकारी अधिकारीहरूसहितको प्रतिनिधिमण्डल पनि रहेको छ । प्रतिनिधिमण्डल सेप्टेम्बर ३, २०२५ मा हिमालयको एयरबस ३२०–२१४ मा बेइजिङ्गबाट नेपाल फर्कने कार्यक्रम रहेको छ ।

हिमालय एअरलाइन्स्का अध्यक्ष श्री झो एन्योंगले सम्माननीय प्रधानमन्त्रीज्यू, वहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्यज्यू र विशिष्ट प्रतिनिधिहरूलाई स्वागत गर्नुभएको थियो । उक्त अवसरमा हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) श्री विजय श्रेष्ठ पनि सम्माननीय प्रधानमन्त्री र भ्रमण टोलीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । 

उक्त उडानपछि श्री विजय श्रेष्ठले भन्नुभयो, “सरकार प्रमुखको औपचारिक भ्रमणको लागि विशेष उडान सञ्चालन गर्नु हिमालय एअरलाइन्स्को लागि वास्तवमै ठूलो गौरवकोे कुरा हो । अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको एक दशक पार गरेको खुसीको अवसरमा नेपाल सरकारबाट प्राप्त सद्भाव, संरक्षकत्व तथा सहयोगका लागि विशेष आभार ब्यक्त गर्दछौं । हिमालय एअरलाइन्स्ले आगामी वर्षहरूमा यो विश्वासलाई कायम राख्दै राष्ट्रको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”

एयरबस ३१९–११५, 9N-AJK वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय बिहान ०७ः२३ बजे उडेको थियो र उक्त वायुयान स्थानीय समयअनुसार दिउँसो १५ः१५ बजे तिआन्जिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

नेपालको पहिलो र एकमात्र IOSA प्रमाणित एअरलाइन्स्को रूपमा हिमालय एअरलाइन्स् सुरक्षित उडान, सञ्चालन उत्कृष्टता र विश्वस्तरीय सेवाप्रति प्रतिबद्ध छ । विगत १० वर्षमा, हिमालयले नेपाललाई विश्वसँग जोड्ने एक विश्वसनीय एअरलाइन्स्को रूपमा आफ्नो प्रतिष्ठालाई सगौरव कायम राखेको छ।