काठमाडौँ, नेपाल–नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स् (IATA: H9) ले जुन ०४, २०२६ देखि नेपालको राजधानी काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेनबीच ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ ।

हिमालय एअरलाइन्स् ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), काठमाडौँबाट शेन्जेनस्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थल (SZX) बीच साप्ताहिक दुई सिधा उडानहरू सेवा आरम्भ गरेको छ । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो ।

हाम्रो ऐतिहासिक काठमाडौँ–शेन्जेन उडान (H9 985) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ०४, २०२६ मा नेपाली स्थानीय समयअनुसार राति ०९:५९ बजे ९८ यात्रुसहित प्रस्थान गर्यो । जुन ०५ मा उक्त उडान चीनको स्थानीय समयअनुसार बिहान ०४:१७ बजे शेन्जेनस्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थल (SZX) मा अवतरण गर्यो। त्यसैगरी, शेन्जेन–काठमाडौँ उडान (H9 986) ले शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ०५, २०२६ मा चीनिया स्थानीय समयअनुसार बिहान ०६:१२ मा १५७ यात्रुसहित प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार बिहान ०८:२६ मा काठमाडौँ अवतरण गर्यो।
काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान उडान हुनेछ भने शेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
यो नयाँ सेवा सुरु भएसँगै यसले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने छ । यस पहलका साथ, हामीले काठमाडौँ–शेन्जेन–काठमाडौँ मार्गलाई प्रवद्र्धन गर्दै हाम्रा यात्रुहरूका लागि आरामदायी र रमणीय यात्रा विकल्पहरू उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।

हिमालय एअरलाइन्स् आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै नेपाल र चीन दुवै लाभान्वित भई पर्यटन र व्यापारिक अवसरहरू बढ्ने अपेक्षा गरेका छौँ ।
हिमालय एअरलाइन्स् सँग यात्रा गर्न चाहनुहुने यात्रुहरूले एअरलाइन्स् को टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्स् को आधिकारिक वेबसाइट www.himalaya-airlines.com र हिमालय एअरलाइन्स् मोबाइल एप्लिकेसनबाट पनि काठमाडौँ–शेन्जेन–काठमाडौँ उडानको टिकट बुक गर्न सक्नुहुनेछ ।