काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स् (IATA: H9) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (PVG) , सांघाईबीच सोमबार, सेप्टेम्बर २८, २०२६ देखि नियमित सिधा उडान सेवा पुनः सुरु गर्ने घोषणा गरेको छ ।

उडान सेवा पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स् काठमाडौँ–सांघाई–काठमाडौँ मार्गमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बन्नेछ । यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगरमध्ये एक सांघाईबीचको रणनीतिक रूपमा महत्वपूर्ण हवाई सम्पर्क पुनःस्थापित हुनेछ ।

काठमाडौँ–सांघाई–काठमाडौँ उडानले यात्रुहरूलाई नेपालको राजधानी काठमाडौँ र चीनको सबैभन्दा ठूलो शहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र सांघाईबीच सहज र सिधा हवाई यात्रा सुविधा प्रदान गर्नेछ । काठमाडौँ–सांघाई–काठमाडौँले यात्रुलाई सुविधाजनक, सुरक्षित र प्रभावकारी यात्रा सेवा प्रदान गर्ने हिमालय एअरलाइन्स् को प्रतिबद्धतालाई थप मजबुत बनाउनेछ । साथै, यसले नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबीचको सम्पर्क र आदानप्रदानलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ ।

नेपालको मुख्य पर्यटन सिजनको सुरुवातसँगै हवाई सेवा पुनः सञ्चालन हुनुले यस रुटको रणनीतिक महत्वलाई थप बढाउने छ । यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य तथा पर्यटन क्षेत्रलाई समेत सकारात्मक योगदान पुर्याउने हाम्रो अपेक्षा छ । यसले नेपालको आर्थिक पुनरुत्थान तथा आर्थिक वृद्धिका लक्ष्यलाई समेत सहयोग पुर्याउनेछ ।

हिमालय एअरलाइन्स् ले प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई उडान सञ्चालन गर्नेछ । काठमाडौँ–सांघाईतर्फका उडानहरू हरेक सोमबार र शुक्रबार प्रस्थान गर्नेछन् भने सांघाई–काठमाडौं फर्कने उडानहरू हरेक मंगलबार र शनिबार  सञ्चालन हुनेछन् । एअरलाइन्स् ले  यात्रुको माग तथा उडानको यात्रु भार (LOAD) का आधारमा आगामी दिनमा उडान संख्या थप गर्नेछ ।

Sector

Effective Dates

Days

Departure

Arrival

KTM-PVG

28th Sep-23rd Oct

Monday, Friday

18:25

02:00+1

PVG-KTM

29th Sep-24th Oct

Tuesday, Saturday

03:00

07:10

नोटः उल्लेखित सबै समय स्थानीय समयअनुसार हुन् । +१ ले अर्को दिन आगमन हुने जनाउँछ ।

हिमालय एअरलाइन्स् का उपाध्यक्ष श्री विजय श्रेष्ठले काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित उडान पुनः सञ्चालन हुन लागेको बारे जानकारी दिदै भन्नुभयो, "हिमालय एअरलाइन्स् नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउन तत्पर छ । हामीले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएका छौँ । काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा पूनः सुरु हुन लागेको यस उडानले दुई राष्ट्रका नागरिक–नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो एअरलाइन्स् को उद्देश्यलाई प्रोत्साहन गर्दछ । यस रुटमार्फत हिमालय एअरलाइन्स् ले यात्रुलाई अविस्मरणीय यात्रा अनुभव प्रदान गर्नुका साथै सुरक्षा र सेवाको उच्चतम मापदण्ड कायम राख्ने लक्ष्य लिएको छ ।"

हिमालय एअरलाइन्स् सँग यात्रा गर्न चाहनुहुने यात्रुहरूले एअरलाइन्स् को टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्स् को आधिकारिक वेबसाइट www.himalaya-airlines.com र हिमालय एअरलाइन्स् मोबाइल एप्लिकेसनबाट पनि काठमाडौँ–सांघाई–काठमाडौँ उडानको टिकट बुक गर्न सक्नुहुनेछ ।